०३ माघ, काठमाडौं । बलिउड अभिनेता सैफ अली खानको मेरुदण्डमा अड्किएका चक्कुको टुक्रा शल्यक्रिया गरेर निकालिएको छ ।
अभिनेता सैफमाथि घाँटी, ढाड, हात र टाउकोसहित छ ठाउँमा छुरा प्रहार गरिएको थियो । उनको मेरुदण्डमा चक्कुको टुक्रा अड्किएको र तरल पदार्थ पनि चुहिन थालेको भनिएको थियो । शल्यक्रियामार्फत उक्त चक्कु निकालिएको हो । उनको देब्रे हातमा दुईवटा गहिरो घाउ र घाँटीमा पनि गहिरो चोट लागेको छ । उपचारपछि हाल उनको अवस्था खतरामुक्त रहेको भनिएको छ ।
मुम्बई प्रहरीले एक आक्रमणकारीको पहिचान भने भइसकेको जनाएको छ । प्रहरीले सैफको घरबाट तीन जनालाई सोधपुछको लागि लगेको छ । प्रारम्भिक अनुसन्धान अनुसार घर भित्र उपस्थित कसैले आक्रमणकारीलाई प्रवेश दिएको थियो । घरमा कोही पनि जबरजस्ती पसेका छैनन । सीसीटीभीमा पनि कोही घरभित्र पसेको देखिँदैन ।
बान्द्रा प्रहरी चौकीले आक्रमणकारीहरूको खोजी गर्न ७ वटा टोली गठन गरेको छ । अपराध महाशाखाले पनि मुद्दाको अनुसन्धान गर्न ८ वटा टोली गठन गरेको छ । अनुसन्धानका लागि क्राइम ब्रान्च पनि सैफको घर पुगेको छ । सैफको टोलीको आधिकारिक बयानका आधारमा सैफ अली खानको घरमा चोरीको प्रयास भएको बताइएको छ । आक्रमणमा सैफको घरमा काम गर्ने कामदार आरियामा फिलिप उर्फ लिमा पनि घाइते भएकी छिन ।