०३ माघ, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले बाह्रै महिना मेलम्चीको पानी आपूर्तिका लागि विकल्प खोजिसकेको बताएका छन् ।
आज ललितपुरमा आयोजित एक कार्यक्रममा मन्त्री यादवले विगतमा वर्षात्को समयमा काठमाडौंमा पानी आपूर्ति बन्द हुने भएपनि अब भने पानीको आपूर्ति बन्द नहुने बताएका हुन् । उनले मेलम्ची नजिकै अर्को खोलाको पानी ल्याउने र शिवपुरीबाट पनि पानी आपूर्ति गर्नेगरी तयारी भइरहेको बताए । उनले मेलम्चीको पानी आपूर्तिमा उपत्यकाबासीको विश्वास हट्न नदिने जिकिर गरे ।
असारदेखि चार महिनाका लागि मेलम्चीको पानी बन्द गरिँदै आएकोमा यस वर्ष आफ्नो पहलका कारण दशैं अगाडि नै मेलम्चीको पानी आपूर्ति गर्न सफल भएको उनको भनाइ छ । उनले जलस्रोत धनी मुलुक नेपालमा खानेपानीका लागि आन्दोलन गर्नुपर्ने अवस्था अब नआउने बताए । मन्त्री यादवले अब काठमाडौं उपत्यकामा खानेपानीको समस्या नहुने प्रतिवद्धता समेत जनाएका छन् ।