०३ माघ, काठमाडौं । ललितपुर महानगरलाई स्मार्ट सिटीको रुपमा विकास गर्ने योजना अघि बढाइएको छ ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा लतिपुरमा आयोजित ‘भूकम्प र विपद् जोखिम व्यवस्थापन’ विषयक कार्यशाला गोष्ठीमा बोल्दै महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले यस्तो जानकारी दिएका हुन । उनले महानगरलाई स्मार्ट सिटी बनाउनका लागि पोखरीहरुको पुनर्निर्माण सम्पन्न भइसकेको जानकारी दिए । उनले वतावरणीय सुधार समेत महानगरको प्राथमिकतामा रहेको बताए ।
ललितपुर महानगरभित्र खुला ठाउँ नभएका कारण केही समस्या भइरहेको उनको भनाइ छ । प्रमुख महर्जनले स्मार्ट सिटी बनाउनका लागि कम्तिमा १० प्रतिशत खुला ठाउँको आवश्यकता रहेकोमा महानगरसँग तीन प्रतिशत मात्र खुला ठाउँ रहेको बताए । उनले पहिले नै नेपाल आर्मीलगायतले खाली ठाउँ लगिसकेका कारण अब कसैलाई पनि जमिन नदिने नीति लिएको बताए । उनले महानगरलाई स्मार्ट सिटी बनाउन सङ्घीय सरकारले पनि आवश्यक सहयोग गर्नुपर्ने बताए ।