०३ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले दक्ष जनशक्ति उत्पादनमा राज्यले कछुवा गतिमा काम गरिरहेको बताएका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको पहिलो दीक्षान्त समारोहलाई सम्बोधन गर्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् । राज्यले लगानी गरेर छात्रवृत्तिमा जनशक्ति उत्पादन गरे पनि नेपालमै बसेर काम गर्ने परिस्थिति नभएकोमा चिन्ता पनि व्यक्त गरे । उनले भनेका छन्, ‘नेपालमै बस्ने परिस्थिति कसरी निर्माण गर्न सकिन्छ ? देशमा बस्ने वातावरण कसरी बनाउन सकिन्छ, हामी सहकार्य गर्न तयार छौँ ।’
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले सञ्चालन गरेको पश्चिमाञ्चचल क्षेत्रीय अस्पताल पोखराको स्तरोन्नतिमा कुनै कसर बाँकी नराख्ने मन्त्री पौडेलको दाबी छ । देशमा पर्याप्त आर्थिक स्रोतबिना नै स्वास्थ्य क्षेत्र उकास्न लागिरहेको उनले सुनाए । उपचारात्मक मात्रै नभएर निरोधात्मक क्षेत्रमा अस्पतालले काम गर्नुपर्ने उनको भनाई छ । निरोधात्मक क्षेत्रमा काम गर्ने योजना बनाइरहेको भन्दै उनले स्वास्थ्य बिमामा नागरिकको लगानी आवश्यक रहेको बताए ।