०३ माघ, काठमाडौं । युद्धविरामका लागि इजरायल र हमासबीच सम्झौता भएको दाबी गरिएको केहि घण्टामै पुनः इजरायलको हमलामा परी ७१ जनाको मृत्यु भएको छ ।
हमासद्वारा सञ्चालित नागरिक सुरक्षा निकायका अनुसार युद्धविराम घोषणा भएपछि गाजामा इजरायली हवाई आक्रमणले ७१ जनाको मृत्यु भएको हो । आक्रमणमा परी १९ भन्दा बढी बालबालिका र २४ महिलाले ज्यान गुमाएको नागरिक सुरक्षा निकायले दाबी गरेको छ । इजरायली सेनाले यसबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम सम्झौताको अनुमोदनबारे छलफल गर्न आज बिहान आयोजना गर्न लागिएको क्याबिनेट बैठकको समय पनि पछि सारिएको जनाइएको छ । हमासले अन्तिम समयमा थप माग राख्न खोजेको आरोप पनि उनले लगाए ।
मध्यस्थकर्ताले हामासले सम्झौताका सबै बुँदाहरू स्वीकार गरेको जानकारी दिएपछि मात्रै क्याबिनेटको बैठक बस्ने विज्ञप्तिमा भनिएको छ । बुधबार राति घोषणा गरिएको सम्झौतामाथि निर्णय लिन स्थानीय समयअनुसार बिहान ११ बजे क्याबिनेटको बैठक बस्ने अपेक्षा गरिएको थियो । इजरायल र हमासबीच भएको युद्धविराम तथा बन्धक रिहाइ सम्झौता आइतवारदेखि लागू हुने अपेक्षा गरिएको छ, तर हालसम्म लडाई जारी रहँदा पुन संसय छाएको छ । इजरायली प्रधानमन्त्रीको कार्यालयले हामासले सम्झौताबाट पछि हटेर अन्तिम समयमा संकट सिर्जना गर्न लागेको दाबी गरिएको छ ।
हमासले ७ अक्टोबर २०२३ मा दक्षिण इजरायलमा आक्रमण गरी लगभग १,२०० जनाको हत्या गरेको थियो । भने २ सय ५१ जनालाई बन्धक बनाएको थियो । यस आक्रमणले इजरायलको ठूलो सैन्य कारबाही निम्त्यायो जुन आक्रमणमा ४६,००० भन्दा बढी प्यालेस्टिनीको मृत्यु भएको छ ।