|  

एचपीभी खोप सातै प्रदेशमा पठाइयो

०३ माघ, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले किशोरीलाई लगाइने पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपीभी) खाेप सातवटै प्रदेशमा पठाएको छ ।

‘भ्याक्सिन र खोपका लागि ग्लोबल एलायन्स’ (गाभी) को सहयोगमा खोप नेपाल आएपछि सबै प्रदेशमा पठाइएको स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन महाशाखाका निर्देशक डा.पवनजङ्ग रायमाझीले जानकारी दिए । उनले सबै १७ लाख ७० हजार २० मात्रा खोप नेपाल आइसकेको बताए । निर्देशक डा.रायमाझीका अनुसार गाभीले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट बचाउन एचपीभी खोप निःशुल्क उपलब्ध गराएको हो । संघीय सरकारले २२ माघदेखि ६ फागुनसम्म देशभरि कक्षा ६ देखि १० सम्म र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार ९ सय किशोरीलाई खोप लगाइने जनाएको छ ।

नेपालमा सबैभन्दा बढी महिलामा लाग्ने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर र त्यसपछि स्तन क्यान्सर रहेको छ ।