०३ माघ, काठमाडौं । सहकारी ठगी प्रकरणमा कास्की र काठमाडौंमा धरौटीमा रिहा भएका रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अर्को मुद्दा रुपन्देहीमा दर्ता हुने भएको छ ।
रुपन्देहीस्थित सुप्रिम सहकारीको रकम ठगी प्रकरणमा उनीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीले भोलि जिल्ला अदालत रुपन्देहीमा मुद्दा अभियोजन गर्ने भएको हो । जिल्ला सरकारी वकिल कार्यालयले आज यसअघि नै अभियोजन भइसकेका जीबी राईलगायतको मुद्दामा बिगो बढाएको छ । यसअघि नै रुपन्देही अदालतमा २८ जनाविरुद्ध मुद्दा दर्ता भएकोमा आज जीबी राईलगायत १७ जनाविरुद्ध बिगो बढाएको हो । यसअघि नै प्रतिवादी बनाइएका जीबी राई, ओमप्रकाश गुरुङ, सागर केसी र दिनेश रोकासहित १७ प्रतिवादीविरुद्ध संगठित अपराधमा पनि अभियोग लगाइएको छ ।
यस्तै उनीहरूविरुद्ध २ करोड ७ लाख रुपैयाँ बिगो थप भएको जिल्ला सरकारी वकिल कार्यालयले जनाएको छ । यसअघि १ अर्ब ३ करोड बिगोसहित उनीहरूविरुद्ध सहकारी ठगीको कसुरमा मात्रै मुद्दा दर्ता भएको थियो । सञ्चालक समिति सदस्य समेत रहेका रोकाविरुद्ध भने सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अभियोग थप गरिएको छ । उनीविरुद्ध सम्पत्ति शुद्धीकरणमा ५ करोड बढी बिगो कायम गरिएको छ । अदालतमा मुद्दा दर्ता भएपछि लामिछाने आफैँ अदालतमा उपस्थित हुनेछन् । काठमाडौं जिल्ला अदालतमा ६० लाख रुपैयाँ बराबरको बैंक ग्यारेन्टी बुझाएपछि उनी हिजाे थुनामुक्त भएका थिए । र प्रहरीले रुपन्देहीमा आफैँ हुने सर्तमा उनलाई परिवारको जिम्मा लगाएको थियो ।