३ माघ, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफ्ना मन्त्रीहरुलाई दुई दिन जनतामाझ जान निर्देशन दिएका छन् ।
बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा मन्त्रीहरु र संसदीय दल कार्यसमितिको बैठकमा मन्त्रीहरुलाई निर्देशन दिदै ५ दिन प्रतिवद्ध भएर काम गर्न र दुई दिन जनताका पीरमर्का बुझ्न निर्देशन दिएको प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।
घिमिरेले भने-‘हप्तामा दुई निश्चित दिन मन्त्रीहरूले खुला भेटघाट गर्ने, पार्टीको बीचमा गएर आलोपालो सिस्टमबाट कार्यकर्तासँग भेटघाट गर्ने नागरिकको गुनासो सुन्ने, बाँकी पाँच दिन मन्त्रालयको काममा केन्द्रित हुन निर्देशन दिएको छ ।’
बैठकमा सभापति देउवा लगायतका नेताहरुले अध्यादेश सल्लाहमा आएको र अनावश्यक चर्चा गर्नू आवश्यक नभएको निष्कर्ष निकालेको घिमिरेले जानकारी दिए । उनले भने- ‘अध्यादेशको विषयमा हामी स्पष्ट छौं । सल्लाह गरेरै अध्यादेश ल्याइएको हो । अध्यादेश ल्याउन तत्कालै जरुरी थियो ।'