|  

पक्षघात उपचारका लागि महँगो औषधि निःशुल्क उपलब्ध गराउने स्वास्थ्यमन्त्री पौडेलको निर्णय

४ माघ, काठमाडौं ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले नेपालमा निकै दुर्लभ पक्षघातको उपचारमा प्रयोग हुने निकै महँगो औषधि निःशुल्क उपलब्ध गराउने निर्णय गरेका छन् ।

हिजो पोखरामाआयोजित कार्यक्रममा मन्त्री पौडेलले हरेक वर्ष झन्डै आठ सय जनाको ज्यान गइरहेको पक्षघातको उपचार गरी जीवनरक्षा गर्न अमेरिकी सहयोगमा प्राप्त औषधि सङ्घीय तथा प्रदेश अस्पतालमार्फत निःशुल्क वितरण गरिने बताए ।

रक्तचाप र मुटुसम्बन्धी समस्या देखिएका व्यक्तिमा पक्षघात हुने अवस्थामा औषधि प्राप्त नहुँदा ज्यान जाने सङ्ख्या बढेको मन्त्रालयको विवरणमा छ । थ्रोम्बोलाइटिक ड्रग्स नामक औषधिको एक मात्रा सेवन गरेमा पक्षघातको सफल निदान हुने चिकित्सकले बताउने गरेका छन् ।

यो औषधिको एउटा मात्राको मूल्य नेपालमा झन्डै १ लाख ३८ हजार रुपैयाँ पर्ने र सहजै उपलब्ध नहुने भएकाले औषधि नपाएकै कारण धेरैको ज्यान गइरहेकाले मन्त्रालयले यस औषधिको प्राप्ति र सहज उपलब्ध गराउन पहल गरिरहेको छ ।