०४ माघ,काठमाडौं । काठमाडौं महानगरपालिकाले दुग्ध विकास संस्थानबाट १ करोड २ लाख ८७ हजार रुपैयाँ राजस्व असुल गरेको छ ।
काठमाडौं महानगरपालिका-२६ लैनचौरमा संस्थानले उक्त कर दाखिला गरेको हो । वडासचिव केदार रिमालका अनुसार आर्थिक वर्ष २०४९/५० देखि २०८१/०८२ सम्मको घरजग्गारसम्पत्ति करको मूल्याङ्कन गरेर संस्थानले सो कर दाखिला गरेको छ । संस्थानसहित सरकारको स्वामित्वमा भएका १२ व्यावसायिक सङ्घसंस्थालाई कर दाखिला गर्न महानगरपालिकाको राजस्व विभागले यसअघि नै पत्राचार गरिसकेको थियो ।
महानगरपालिकाले जारी गरेको राजस्व ऐन, २०७५ तथा आर्थिक ऐनले सम्पत्ति करको दररेट तथा सङ्कलन प्रक्रियाका बारेमा व्यवस्था गर्ने गरेको छ । यसअनुसार नक्सापास भएको दुई वर्षलाई निर्माण अवधि मानेर त्यसपछिको अवधिदेखि घरजग्गारसम्पत्ति कर गणना हुने व्यवस्था छ । संवैधानिक र कानुनी व्यवस्थाबमोजिम पत्राचार गरेर कर दाखिला गर्न अनुरोध गरिएको कामपा राजस्व विभागका प्रमुख दीपक अधिकारीले जानकारी दिए । प्रमुख अधिकारीका अनुसार पत्राचार गरेपछि करदाताहरू सम्पर्कमा आउन थालेका छन ।
घरजग्गा ऐन २०१९ तथा नियमावली २०२० को व्यवस्थाअनुसार महानगरपालिकाले २०४९ सालदेखि घरजग्गा कर सङ्कलन गर्दै आएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ५५ ले गाउँपालिका वा नगरपालिका क्षेत्रभित्र सम्पत्ति कर लगाउने अधिकार स्थानीय तहमा व्यवस्था छ ।