०४ माघ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल बाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेमा स्वागत गर्ने बताएका छन् ।
आज पोखरेलले माधव नेपालले एमाले फुटाएर ठूलो गल्ती गरेको भन्दै उनका लागि एमालेको ढोका खुला नभएको बताएका हुन् । माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गरेको समेत उनले बताए । नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पारे । एमालेभित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अलमलिन नहुने उनले बताए ।
त्यस्तै उनले सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको बताए । महासचिव पोखरेलले देशका पक्षमा उभिएको कारण केपी ओली माथि आक्रमण भएको र ओलीमाथिको आक्रमण मुलुकमाथिको आक्रमण भएको तर्क समेत गरे ।