०४ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले लागुऔषधसम्बन्धी अपराधमा दोषी ठहरिएका झण्डै २ हजार ५ सय व्यक्तिको सजाय मिनाहा गरेका छन् ।
राष्ट्रपति बाइडेनले सामाजिक सञ्जाल एक्समा एक विज्ञप्ति जारी गर्दै भनेका छन, ‘अहिलेको समयमा पाउनेभन्दा लामो सजाय भोगिरहेकाहरूको सजाय घटाइएको छ ।’ उनले यो निर्णय ‘गल्तीहरू सच्याउन, सजायमा हुने असमानता सच्याउन र योग्य व्यक्तिहरूलाई उनीहरूको परिवारमा फर्कने अवसर प्रदान गर्ने दिशामा एक महत्त्वपूर्ण कदम हुने बताएका छन् ।राष्ट्रपति बाइडेनले भने, ‘यो कदमसँगै मैले अमेरिकी इतिहासमा कुनै पनि राष्ट्रपतिको तुलनामा धेरैलाई व्यक्तिगत क्षमादान गरेको छु । र, सोमबार नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सत्ता हस्तान्तरण गर्नुअघि थप क्षमादान गर्न सक्छु ।’
राष्ट्रपति बाइडेनले गत महिना करिब १ हजार ५ सय व्यक्तिको सजाय घटाउने र अन्य ३९ जनालाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका थिए । गत डिसेम्बरमा माफी पाउनेमा बन्दुक र कर सम्बन्धी अपराधमा दोषी ठहर भएपछि जेल सजाय सुनाइएका राष्ट्रपति बाइडेनका छोरा हन्टर पनि थिए ।
यसैबीच बाइडेनले केही सहयोगी र पूर्व अधिकारीहरूलाई पूर्ण माफी दिने वा नदिने भन्ने विषयमा छलफल गरिरहेको बताइएको छ । गत डिसेम्बरमा राष्ट्रपति बाइडेनले मृत्युदण्डको सजाय पाएका ४० मध्ये ३७ जना कैदीको सजाय घटाएका थिए ।