|  

जलविद्युतको शेयर बिनाधितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिइँदै

०४ माघ, काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गरिब तथा विपन्न वर्गलाई ऊर्जाको विकासमार्फत समृद्धिको यात्रामा जोड्ने गरी सरकारले काम गरिरहेको दाबी गरेका छन् ।

स्वतन्त्र ऊर्जा उत्पादकको संस्था (इप्पान) नेपालको २५ औँ रजतजयन्ती उद्घाटन सत्रमा आज उनले जलविद्युत केन्द्रको शेयर बिनाधितो प्रभावित क्षेत्रका गरिब तथा विपन्न वर्गलाई दिने प्रबन्ध मिलाउन लागिएको बताएका हुन् । मन्त्री खड्काले अहिले हुनेखाने वर्गले मात्र जलविद्युत केन्द्रमा शेयर हालिरहेको अवस्था रहेको भन्दै सरकारले प्रभावित क्षेत्रका विपन्न वर्गलाई लक्षित गरी बिनाधितो शेयरको व्यवस्था गर्न लागेको बताए । उत्पादित विद्युतको बजार सुनिश्चित रहेकाले ऊर्जा क्षेत्रमा ढुक्क भएर लगानी गर्न निजी क्षेत्रलाई उनले आग्रह गरे । 

मन्त्री खड्काले पहिले जलविद्युत क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा धेरै समय लाग्ने गरे पनि हाल अधिकांश जलविद्युत केन्द्रमा मोटरबाटोको पहुँच पुगेकाले काम गर्न थप सहज भएको बताए  । उनले हालैको मन्त्रिपरिषद् बैठकले ऊर्जा विकास मार्गचित्र २०८१ पारित गरिसकेकाले उक्त मार्गचित्र कार्यान्वयनका लागि निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण भएको उल्लेख गरे ।