०५ माघ, काठमाडौं । म्याग्दीमा नागरिकताका लागि लिखित सिफारिसको कागजपत्र बोकेर प्रशासनमा धाउनुपर्ने समस्या हटेको छ ।
जिल्ला प्रशासन कार्यालय म्याग्दीले अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएसँगै यो समस्या हटेको हो । प्रमुख जिल्ला अधिकारी गुरूदत्त ढकालले नागरिकता सिफारिसको कार्यलाई समयसापेक्ष, प्रविधिमैत्री र सेवाग्राहीलाई झन्झटरहित छिटोछरितो सेवा प्रवाह गराउन अनलाइन प्रणालीमार्फत नागरिकताको सिफारिस गर्ने व्यवस्था मिलाएको जानकार दिए ।
अनलाइन प्रणालीबाट नागरिकता सिफारिससम्बन्धी सेवा प्रवाहका लागि वि.सं २०६० चैत ७ गतेभन्दा पछि जिल्ला प्रशासन कार्यालय म्याग्दीमार्फत वितरण भएका नागरिकताको विवरण सफ्टवेयरमा प्रविष्ट गरिएको छ । वि.सं २०६० चैत ७ गते बेनी भीडन्तका क्रममा प्रशासनका कागजपत्र जलेका कारण अभिलेख नराखिएको हो । राष्ट्रिय परिचयपत्र, मतदाता परिचयपत्र, आन्तरिक राजस्व कार्यालयले जारी गरेको प्यान नम्बर, सवारी चालक अनुमतिपत्रलाई पनि सफ्टवेयरमा समावेश गरिएको छ ।अनलाइनमार्फत सिफारिस गर्दा नागरिकता सिफारिसमा हुने गलत क्रियाकलाप नियन्त्रण हुने, सेवाग्राहीलाई झन्झट नहुने र कर्मचारीलाई पनि काम गर्न सजिलो भएको प्रजिअ ढकालको भनाइ छ ।