०५ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाले सरकारले नबोलाएपछि संविधानअनुसार विपक्षी दलहरुले संसद बोलाउने तयारी गरेको बताएका छन् ।
आज सिन्धुपाल्चोकको बाह्रबीसेमा आयोजित खबरदारीसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले सरकारमा दुई तिहाइको भिड भए पनि सदनको सामना गर्न डराएको टिप्पणी गरे । सरकारलाई के नपुगेर संसद नबोलाएको भन्ने प्रश्न गर्दै पूर्वसभामुखसमेत रहेका सापकोटाले भने, ‘दुई तिहाइको सरकार छ । भिड उनीहरुकै छ । के नपुगेर र संसद नबोलाएको ? हामी थोरै छौं, तर पनि सरकार संसद बोलाउन डराएको छ ।’
उनले सरकार भ्रष्टाचारको संरक्षण गर्नमा केन्द्रित भएको आरोप लगाए । भ्रष्टाचारको प्रकरणमा सरकारबाट आफू निकटकालाई बचाएर विपक्षीलाई छानीछानी पक्राउ गर्ने काम भइरहेको उनको भनाइ छ । उनले पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारको कामले पार्टीप्रति आकर्षण बढेको जिकिर गरे । नेता सापकोटाले अहिले पार्टी एकताबद्ध भएर जनतामा जाने निर्णय हालै बसेको केन्द्रीय कमिटीको बैठकले गरेको बताए ।