५ माघ, काठमाडौं । नेकपा एमालेबाट निष्कासनमा परेपछि पहिलोपटक गृहजिल्ला पुगेका डा. भीमबहादुर रावललाई बाजागाजासहित स्वागत गरिएको छ । रावललाई समर्थकहरूले साँफेबगरमा राष्ट्रिय झन्डा र बाजागाजासहित स्वागत गरेका हुन् ।
गत पुस ११ गते बसेको एमाले सचिवालय बैठकले पार्टीबाट निकालेको एक सातापछि रावलले काठमाडौँमै पत्रकार सम्मेलन आयोजना गरेर ‘मातृभूमि जागरण अभियान’ चलाउने घोषणा गरेका थिए ।
अभियानअन्तर्गत गृहजिल्ला पुगेका रावललाई राष्ट्रिय झन्डा बोकेका उनका समर्थकहरूले साँफेबगरमा बाजागाजासहित स्वागत गरेका हुन् ।
मातृभूमि जागरण अभियान, साँफेबगर अछामले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै नेता रावलले नेपालमा तानाशाही मनोवृत्ति अस्विकृत भएकाे स्मरण गराउँदै निरंकुशताको सपना नदेख्न अध्यक्ष ओलीलाई चेतावनी दिए।
‘आज केपी ओलीहरू भनिरहनु भएको छ– अरु कसैले आवाज उठाउँछ भने उनीहरूलाई पनि हटाइदिन्छु। यो सत्ताको उन्मादमा उहाँमा चढेको निरंकुशता र तानाशाही प्रवृत्ति हो,’ उनले प्रश्न भने, ‘नेपालमा कुन तानाशाही बचेको छ र? केपी ओलीले सपना त देखेका होलान्! तर त्याे सपना राति देख्दा हुन्छ, विपनामा पूरा हुनेवाला छैन।’
त्यस्तै, उनले नेकपा (एमाले) पार्टी ‘बामाले’मा परिणत भएको र त्यसकाे समर्थक महासचिव शंकर पोखरेलको भन्दै उनकाे पनि आलोचना गरे। नेता रावलले ‘ओलीको निरंकुशता’लाई गाड्न अध्यक्ष ओलीको गृहजिल्ला झापा र महासचिव पाेखरेलकाे गृहजिल्ला दाङमा ठूलो खाल्डो पनि तयार भएको टिप्पणी गरे।