५ माघ, काठमाडौँ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गण हेडक्वाटर धनुषाले शनिबार पेस्तोलसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको जिल्ला मधुवनी सिलानाथ बरही ग्राम पंचायत–५ बस्ने अन्दाजी २१ वर्षीय रुपेशकुमार यादव र धनुषा क्षिरेश्वरनाथ नगरपालिका–८ सीतानगर बस्ने अन्न्दाजी २४ वर्षीय तेजेशकुमार महतो छन् ।
सशस्त्र प्रहरी निरीक्षक रविन्द्र दाहालको टोलीले धनुषाको धनौजी गाउँपालिका–४ स्थित भडरियाबाट निर्माता कम्पनी नखुलेको ९ एमएम बाउनिङको पेस्तोलसहित उनीहरुलाई पक्राउ गरेको सो गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले बताए ।
उनीहरुको साथबाट म्यागजिन एक थान, सो पेस्तोलमा प्रयोग हुने गोली एक राउण्ड पनि बरामद भएको छ । यसका साथै उनीहरुले प्रयोग गरेको भारतीय मोटरसाइकल पनि नियन्त्रणमा लिइएको छ ।