६ माघ, काठमाडौं । अमेरिकामा शर्ट भिडिओ प्लेटफर्म टिकटक डाउन भएको छ ।
गत वर्ष पारित भएको प्रतिबन्ध वा विनिवेश कानून (ब्यान अर डाइभेस्ट ल) कार्यान्वयनमा आएसँगै टिकटक आइतबारदेखि अमेरिकामा बन्द भएको हो । यो एप एप्पल र गुगल दुवैको अमेरिकी एप स्टोरबाट हटाइएको छ । वेबमा पनि टिकटकको साइट उपलब्ध नभएको नोटिस देखिन थालेको छ । प्रयोगकर्ताहरूले एप खोल्दा भिडियो हेर्न पाइरहेका छैनन् ।
टिकटकले दिएको जानकारी अनुसार अमेरिकामा १७ करोड प्रयोगकर्ताहरूले यो एप प्रयोग गरिरहेका थिए । अन्य सामाजिक सञ्जालहरूमा केही समयका लागि अवरोध आउने गरे पनि, टिकटक जस्तो लोकप्रिय एप यसरी बन्द भएको यो पहिलो घटना हो ।बाइडेन प्रशासनले यसको कार्यान्वयनको जिम्मेवारी ट्रम्प प्रशासनलाई हस्तान्तरण गरेको बताएको छ ।
टिकटकको भने स्पष्ट आश्वासन नपाएसम्म अमेरिकामा सेवा बन्द गर्नुपर्ने भनाइ छ । कम्पनीले आफ्ना कर्मचारीहरूलाई पठाएको इमेलमा राष्ट्रपति ट्रम्पले २० जनवरीमा पदभार ग्रहण गरेपछि टिकटकलाई पुनःस्थापना गर्न सहयोग गर्ने बताएको उल्लेख छ ।
हाल अमेरिकामा टिकटक एप खोल्दा “माफ गर्नुहोस्, टिकटक अहिले उपलब्ध छैन” भन्ने सन्देश देखा पर्छ । कम्पनीले यस समस्याको समाधानका लागि निर्वाचित राष्ट्रपति ट्रम्पसँग सहकार्य गरिरहेको बताएको छ ।