६ माघ, काठमाडौं । नेकपा एमाले कैलालीले सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकासमन्त्री कृष्णराज सुवेदीसहित दुई जनालाई पार्टीबाट निष्कासन गर्न सिफारिस गरेको छ ।
शनिबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले पूर्वमन्त्री कृष्णराज सुवेदी र जिल्ला कमिटी सदस्य भिष्मराज सुवेदीलाई पार्टीको संगठित सदस्य समेत नहरनेगरी निष्कासन गर्न केन्द्रीय कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।
पूर्वमन्त्री सुवेदी पनि एमालेबाट निष्कासन गरिएका भीम रावलको गतिविधिमा संलग्न भएको पाइएपछि कारबाही गर्न सिफारिस गरिएको हो । एमाले कैलालीले पार्टीको संगठित सदस्यबाटै हटाउन सिफारिस गरेका दुवै जना नातामा बाबुछोरा हुन् ।
शुक्रबार धनगढी पुगेका रावललाई स्वागत गर्न पूर्वमन्त्री सुवेदी र उनका छोरा विमानस्थलमै पुगेका थिए । उनीहरूले रावलले सुरु गरेको मातृभूमि जागरण अभियानमा लागेको पनि बताइसकेका छन् ।