|  

राष्ट्रिय परिचयपत्र विवादबारे आज फैसला आउने

०६ माघ, काठमाडौं । राष्ट्रिय परिचयपत्र विवादमा सर्वोच्च अदालतले आज निर्णय सुनाउने तयारी गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत र न्यायाधीशहरू अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले निर्णय सुनाउने छ । यसअघि पुस २६ गते बहस सकिएको मुद्दामा फैसला सुनाउनका लागि पुस २९ गते पहिलो पेसी तोकिएकोमा अन्तिममा सूचीबाट हटेकोमा आजका लागि निर्णय सुनाउने (निसु) तोकिएको थियो । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले गम्भीर संवैधानिक व्याख्याको विषय उठेको भन्दै उक्त रिट पूर्ण इजलासमा पठाएको थियो ।

यसअघि राष्ट्रिय परिचयपत्र जारी गर्न सरकारले ढिलाइ गरेको र त्यसलाई अनिवार्य गर्दा ज्येष्ठ नागरिकहरू सामाजिक सुरक्षा भत्ताबाट वञ्चित हुने भन्दै २०८१ असार २१ गते सर्वोच्चमा रिट दर्ता भएको थियो । उक्त रिटमा गत असार ३० गते न्यायाधीश विनोद शर्माको एकल इजलासले लिखित जवाफ र कारण पेस गर्न आदेश गरेको थियो । त्यसपछि भदौ ५ गते भएको दोहोरो बहसपछि सर्वोच्चले रोक लगाउने निर्णय सुनाएको थियो । सो निर्णयपछि सरकार लिखित जवाफसहित रिटको फैसलामा जानुपर्नेमा भ्याकेटको निवेदन लिएर सर्वोच्च पुगेको थियो ।

सरकारले सामाजिक सुरक्षा भत्ता लिन, मोबाइलको सिमकार्ड लिन र सबै सार्वजनिक सेवा लिन राष्ट्रिय परिचयपत्र अनिवार्य गर्ने निर्णय गरेपछि त्यसविरुद्ध रिट दर्ता भएको थियो ।