|  

भीम रावललाई भेट्दैमा मलाई कारबाही गरिएको हो भने अब उनको अभियानलाई नै सघाउँछुः  पूर्वमन्त्री सुवेदी

६ माघ, काठमाडौं । नेकपा एमालेको सङ्गठित सदस्यबाट हटाउन सिफारिस भएका सुदूरपश्चिम प्रदेशका पूर्वसामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले एमालेले औपचारिक निर्णय गरेमा भीम रावलको अभियानलाई सहयोग गर्ने प्रतिक्रिया दिएका छन् ।

एमालेबाट कारबाहीमा परेका नेता भीम रावललाई भेट्दैमा आफूहरूलाई पनि निष्कासनको सिफारिस गरिएको उनको आरोप छ ।

 उनले भने, ‘मलाई पार्टीले कारबाही गरेको निर्णयबारे औपचारिक जानकारी आइसकेको छैन । तर, भीम रावल मेरा आदरणीय नेता हुन् । उनी आउँदा म भेट्न गएको थिएँ । भीम रावललाई नभेट्नू भनेर पार्टीले सर्कुलर पनि गरेको छैन । एउटा नेतालाई भेट्न जाँदा पार्टीबाट निष्कासन गर्छ भने त्यो नेकपा एमाले र त्यसको नेताहरूको स्वेच्छाचारिता र तानाशाही प्रवृत्ति हो ।’


सुवेदीले आफूलाई जबरजस्ती गरिएकै हो भने भीम रावललाई सम्मान गर्दै उनकै मातृभूमि जागरण अभियानलाई सघाउने समेत बताए ।

‘रावललाई भेट्दैमा उतै लागेको आरोप लगाइन्छ भने, समाचारमा आए जस्तो कारबाही गरिएकै हो भने भीम रावललाई समर्थन हो । उहाँको अभियानलाई समर्थन नै हो । उहाँकै पक्षमा उभिन्छु’, उनले भने ।

एमाले कैलालीको शनिबार बसेको जिल्ला सचिवालय बैठकबाट पूर्वमन्त्री सुवेदी र उनका छोरा तथा जिल्ला सदस्य भीष्मराज सुवेदीलाई पार्टीको सङ्गठित सदस्य समेत नहरने गरी निष्कासन गर्न प्रदेश कमिटीलाई सिफारिस गर्ने निर्णय गरेको थियो ।