७ माघ, काठमाडौं । हमास-इजरायल युद्धविराम भएपछि हमास समूहको नियन्त्रणमा रहेका कञ्चनपुरका विपिन जोशीको परिवार विपिन सकुशल घर फर्किने प्रतीक्षामा छन् ।
करिब पन्ध्र महिनादेखि जारी हमास-इजरायल युद्ध हिजोबाट अन्त्य भएसँगै विपिनको परिवारमा उनी फर्किने आशा पलाएको हो । हमास–इजरायल युद्धविरामको खबरले युद्धविरामपछि पहिलो चरणमा विपिनको नाम समावेश नभए पनि दोस्रो चरणमा विपिनको रिहाइ हुने आशा परिवारमा छ ।
सुदूरपश्चिम विश्वविद्यालयको कृषि सङ्कायमा अध्ययनरत ४९ विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल गएका थिए । त्यहाँ गएको एक महिना नहुँदै इजरायलको दक्षिणी क्षेत्रस्थित अलिमुम किबुजमा हमास समूहले आक्रमण गरेको थियो ।
आक्रमणमा १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिन जोशीलाई हमास समूहले नियन्त्रणमा लिएको थियो । त्यति बेलादेखि विपिनको अवस्था अज्ञात छ ।