|  

एक युवकले भिख मागेरै किने आईफोन १६ प्रो म्याक्स

७ माघ, काठमाडौं ।   भारत उत्तर प्रदेशका एक युवकले एप्पलको पछिल्लो आईफोन १६ प्रो म्याक्स मागेरै किनेको दाबी गरेका छन् ।

सारिफ शेख नाम गरेका ती शारीरिक रूपमा अशक्त व्यक्तिले एउटा भिडिओ अन्तर्वार्तामा आफूले एप्पल स्टोरमा नगद एक लाख ७० हजार भारु (करिब दुई लाख ७२ हजार रुपैयाँ) तिरेर सो आईफोन किनेको बताएका छन् । अन्तर्वार्ता लिने व्यक्तिले पैसा कहाँबाट आयो भनेर सोध्दा उनले मागेर सङ्कलन गरेको बताएका छन् ।

भाइरल भइरहेको सो भिडिओमा उनी शारीरिक रूपमा अशक्त भएका निम्न वर्गीय व्यक्तिले प्रयोग गर्ने, बसेर खुट्टाले धकेलेर यात्रा गर्न मिल्ने काठको साधनमा बसेको देखिन्छन् ।

उनको हातमा सिल्भर ह्वाइट कलरको आईफोन देखिन्छ । अङ्ग्रेजीमा आफ्नो परिचय दिँदै भिडिओमा उनले उक्त फोन आईफोन १६ प्रो म्याक्स भएको बताएका छन् ।