|  

शपथ ग्रहणकै दिन बाइडेन प्रशासनका दर्जनौं नीतिहरूलाई खारेज गर्ने ट्रम्पको तयारी !

७ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले अमेरिकाको समयअनुसार आज कार्यभार सम्हाल्ने कार्यतालिका छ ।

उनले कार्यभार सम्हालेको केही घण्टामै दर्जनौं कार्यकारी आदेश हस्ताक्षर गरेर जो बाइडेन प्रशासनका पछिल्ला चार वर्षका धेरै नीतिहरूलाई खारेज गर्ने घोषणा गरेका छन् ।आइतबार राति आयोजित एक भोज कार्यक्रममा ट्रम्पले भने, ‘म सोमबार आफ्नो कार्यभार सम्हाल्नेबित्तिकै लगभग एक सय कार्यकारी आदेशमा हस्ताक्षर गर्नेछु ।’

ती आदेशले बाइडेन प्रशासनका दर्जनौं विनाशकारी र अतिवादी निर्णयलाई उल्ट्याउने छन् । ती आदेशले अमेरिकी–मेक्सिको सीमामा आप्रवासन नियन्त्रण, तेल तथा ग्यास उत्खननमा लगाइएको प्रतिबन्ध हटाउने र संघीय कर्मचारी तन्त्रमा बाइडेन प्रशासनले लिएका नीतिसँगै अन्य धेरै नीतिहरू उल्ट्याइने बताइएको छ ।

अर्कोतर्फ, ट्रम्पले अलास्कामा तेल तथा ग्यास उत्खननको लागि बाइडेन प्रशासनद्वारा लगाइएको प्रतिबन्ध हटाउने तयारी गरेका छन् । ट्रम्पले सोमबार जारी गर्ने कार्यकारी आदेशमध्ये अमेरिकामा रहेका गैरकानूनी आप्रवासीलाई देशनिकाला गर्ने, जन्मसिद्ध नागरिकता प्रणाली खारेज गर्ने र मेक्सिको सीमामा पर्खाल निर्माण कार्य पुनः शुरू गर्ने विषय मुख्य प्राथमिकतामा रहने जनाइएको छ ।