|  

प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता

७ माघ, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रधानमन्त्री ओली र सभामुख घिमिरेबीच भेटवार्ता भएको हो । भेटमा संघीय संसद्‌को बिजनेसबारे छलफल भएको बालुवाटार स्रोतले जनाएको छ । सरकारले संसद् अधिवेशन बोलाउने तयारी गरेका बेला यो भेट भएको हो ।

आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट आगामी १८ माघमा संसद् अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी भएको स्रोतले बताएको छ । संघीय संसद्‌को नियमित अधिवेशन १८ माघमा बोलाउनेबारे सरकारले आन्तरिक छलफल गरिसकेको छ ।