|  

छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न अदालतको आदेश

०७ माघ, काठमाडौं । नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई ५० लाख धरौटीमा छाड्न अदालतले आदेश दिएको छ ।

आज काठमाडौं जिल्ला अदालतले काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा मुछिएका उनलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । अदालतको आदेशसँगै उनी धरौटी बुझाउने प्रक्रियामा छन ।

जोशीविरुद्ध यसअघि कास्की जिल्ला अदालतमा पनि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि मुद्दा दायर भएको थियो । कास्की अदालतमा ८८ लाख धरौटी बुझाएर रिहा भएका थिए । स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा ३९ जनालाई प्रतिवादी बनाउँदै मुद्दा दायर भएको थियो । यो सहकारीले ६९० बचतकर्ताको एक अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ ।

स्वर्णलक्ष्मी सहकारी ठगीमै पक्राउ परेका सहकारीको लेखा समिति सदस्य सुनिता नेवा ४ लाख र सञ्चालक समिति सदस्य कमल लामा ३ लाख धरौटी बुझाएर रिहा भएका थिए । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने ६० लाख धरौटी बुझाएर रिहा भएका थिए ।