|  

आफू सधैँ टिकटक प्रतिबन्धको विपक्षमाः एलन मस्क

०७ माघ, काठमाडौं । एलन मस्कले आफू सधैँ टिकटक प्रतिबन्धको विपक्षमा रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा मस्कले पुरानो पोस्टलाई शेयर गर्दै टिकटक प्रतिबन्धित हुनु भनेको अमेरिकामा अभिव्यक्ति स्वतन्त्रताको हनन हुनु भएको बताएका हुन् । तर टिकटक अमेरिकामा चलिरहेपनि चीनमा भने ‘एक्स’ अझै चलाउन नपाउने भएकाले असन्तुलनको अवस्था रहेको उनको भनाई छ । उनले अगाडि थप्दै भनेका छन, ‘केही कुरा परिवर्तन हुन आवश्यक छ ।’ सन २००९ देखि नै चीनमा एक्स (त्यस बेलाको ट्विटर) प्रतिबन्धित छ । चीनमा युट्युब, ह्वाटसएप, गुगल, फेसबुक जस्ता अन्य विदेशी एप पनि प्रतिबन्धित छन ।

यता राष्ट्रिय सुरक्षाको कारण देखाउँदै टिकटकमा लगाइएको प्रतिबन्धका कारण शनिबारदेखि अमेरिकामा टिकटक बन्द गरिएको थियो । तर  नव निर्वाचित राष्ट्रपति डोनल्ड ट्रम्पको पहलमा उक्त प्रतिबन्ध तत्कालका लागि स्थगित भएपछि टिकटक बन्द भएको १४ घण्टामै पुनः सञ्चालनमा आइसकेको छ ।