|  

खेलकुदमार्फत विश्वमा शान्ति र सदभावको सन्देश फैलाउन सकिन्छः डा.यादव

०७ माघ, काठमाडौं । पुर्व राष्ट्रपति डा.रामवरण यादवले क्रिकेट देशको पहिचान स्थापित गर्न सफल भएको बताएका छन् ।

आज त्रिभुवन विश्वविद्यालयको खेल मैदान कीर्तिपुरमा शुरु भएको अन्तरराष्ट्रिय अन्तर विश्वविद्यालय टी-२० नेपाल कप क्रिकेटको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन । पछिल्लो दुई दशकदेखि नेपाल क्रिकेटमा उदाउँदै गरेको भन्दै उनले खेलकुदमार्फत विश्वमा शान्ति र सदभावको सन्देश फैलाउन सकिने धारणा राखे । उनले खेलकुद संस्कृति, विचार र विभिन्न क्षेत्रको विविधतालाई जोड्ने कडी रहेको बताए । क्रिकेटबाट अन्तरराष्ट्रिय सम्बन्ध स्थापित गर्न मद्दत पुग्ने उनको विश्वास छ ।

खेलकुदबाट देशको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने र अनुशासित युवा शक्तिको विकासद्वारा समृद्ध नेपालको निर्माण हुने विश्वास उनले व्यक्त गरे । उनले राज्यले खेलकुदको क्षेत्रमा लगानी बढाउनुपर्ने सुझाव दिए ।