८ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शपथ ग्रहण गरेपछि विभिन्न आदेशहरूमा हस्ताक्षर गरेका छन् ।
उनले विशेषगरी सीमा सुरक्षा, आप्रवासी नीति, जलवायु परिवर्तनसम्बन्धी लगायत विभिन्न आदेशमा हस्ताक्षर गरेका हुन् ।
ट्रम्पले चार वर्षअघि संसद भवनमा आक्रमण गरेको अभियोगमा सजाय काटिरहेकाहरूलाई आममाफी दिएका छन् । सोमबार राष्ट्रपतिको शपथ लिएपछि २०२१ जनवरी ६ मा अमेरिकी संसद भवनमा भएको आक्रमणको घटनामा सजाय काटिरहेका १५ सय अभियुक्तहरूलाई माफी दिने निर्णयमा हस्ताक्षर गरेका छन् ।
त्यतिबेला राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक उम्मेदवार जो बाइडेन विजयी भएको घोषणा गर्न बसेको कंग्रेसको बैठकलाई बिथोल्न बैठक चलिरहेको हलमा प्रवेश गरी आक्रमण गरेका थिए । त्यतिबेला संसद भवनमा आक्रमण गर्नेहरू ट्रम्पकै समर्थक रहेको भनिएको थियो। ट्रम्पले राष्ट्रपति निर्वाचित भएपछि ती अभियुक्तहरूलाई रिहा गर्ने बताउँदै आएका थिए।ट्रम्पले अमेरिका र मेक्सिकोको सिमानमा राष्ट्रिय आपतकाल घोषणा गर्ने आदेशमा हस्ताक्षर गरेका छन् ।
यस्तो आदेशले अब त्यहाँ सेना पठाउन अनुमति दिने भनिएको छ । त्यस्तै उनले अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने नीतिको अन्त्य गर्ने आदेशमा पनि हस्ताक्षर गरेका छन् । यो आदेश कार्यान्वयनमा भने अदालती लडाईं सुरू हुनसक्ने बताइएको छ । त्यस्तै आप्रवासी नीतिहरूलाई कडा पार्ने आदेशहरू हस्ताक्षर गरेका छन् जसमा गैरकानुनी रूपमा अमेरिकामा बसिरहेकाहरूलाई उनीहरूकै देश फर्काइने भनिएको छ।