|  

लेखा समितिको बैठकमा एमाले र माओवादीका सांसदबीच चर्काचर्की

०८ माघ, काठमाडौं । प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा सत्तारूढ दल नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का सांसदबीच आज चर्काचर्की भएको छ ।

लेखा समितिमा सत्तापक्षको नेतृत्व हुँदा यसको पहिचान कायम हुन नसकेको भन्दै माओवादी सांसदले मार्गप्रशस्त गर्न सभापति ऋषिकेश पोखरेललाई आग्रह गरे । उनीहरूले समिति सभापति पोखरेलकी श्रीमती अञ्जला कोइराला सहकारी ठगीमा तानिएको र स्वकीयसचिव भ्रष्टाचार प्रकरणमा पक्राउ परेको भन्दै नैतिकताका आधारमा समेत पद छाड्न माग गरे । तर, एमाले सांसद तारा लामाले आइन्दा सभापतिका विषयमा प्रश्न नउठाउन भनेपछि बैठकमै चर्काचर्की भएको हो । लामाले चेतावनीसहित बोलेपछि माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले तत्काल प्रतिवाद गरे । उनले असंसदीय भाषा समितिमा प्रयोग नगर्न चेतावनी दिँदै त्यसलाई रेकर्डबाट हटाउन सभापतिसँग माग गरे । उनले त्यस्तो माग गरेपछि भने लामा आफ्नो बचाउमा लागेका थिए । 

लामाले आफूले इंगित नगरेको भनेर बचाउ गरे पनि एमाले सांसद योगेश भट्टराईले प्रतिवाद गरे । “के असंसदीय भयो ?,” योगेशले प्रश्न गरे । त्यसपछि दाहालले भने, “समितिमा बोलिएको भाषा असंसदीय भयो, हटाउनुपर्छ ।”

योगेशको आड पाएपछि भने लामाले धम्कीको भाषा प्रयोग गरे । “भाइरल हुन बोल्ने ? ल जाऊँ प्रचण्डजीकोमा डेलिगेसन, म आफैँ जान्छु,” दाहाललाई धम्क्याउँदै लामाले भने, “हिजो आफैँ बनाएको, आज प्रश्न उठाउने ? एजेन्डामा बहस छैन, करा’को छ, सभापतिलाई प्रश्न उठाएको छ ।’

त्यसपछि माओवादी सांसद अमनलाल मोदीले समितिमा बोल्दा धम्की दिने नभई संसदीय भाषाको प्रयोग गर्न एमाले सांसदलाई सुझाव दिए । उनले विचार राख्ने स्वतन्त्रता सबै सांसदलाई भएको भन्दै धम्की दिने अधिकार नभएको बताए । धम्कीको भाषा असंसदीय भएको भन्दै उनले त्यसलाई रेकर्डबाट हटाउन माग गरे ।