०८ माघ, काठमाडाैं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार ढल्ने दाबी गरेका छन् ।
काठमाडौं फर्किने क्रममा चितवनको भरतपुर विमानस्थलमा आज सञ्चारकर्मीसँग प्रचण्डले नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार धेरै लामो नजाने दाबी गरेका हुन् । उनले भनेका छन्, ‘यो सरकार धेरै लामो जान्छ भन्ने हामीलाई लाग्दैन । यो कुरा मैले प्रष्टसँग भन्ने गरेको छु । यो गठबन्धन स्वभाविक छैन । पारदर्शी पनि छैन । यसका काम पनि उल्टा हुँदै गएका छन् । अध्यादेशसम्म आउँदा लाजैमर्दो अवस्था भइसकेको छ ।’
ओली नेतृत्वको सरकार धेरै नजाने घोषणा गरिरहँदा कांग्रेस नेताहरू डा. शशांक कोइराला र डा. चन्द्र भण्डारी पनि साथमा थिए । प्रचण्डले बोलिसकेपछि उनको साथमा विमानस्थलको भीआईपी कक्षमा रहेका कांग्रेस नेता कोइरालाले एमालेसँग मिलेर राजनीतिक स्थायित्व दिन सकिने विश्वाससहित सहकार्य गरेको बताए । राजनीतिमा जेसुकै सम्भव रहेको बताएका कोइरालाले प्रचण्डले सरकार लामो नजाने भनेर दिएको वक्तव्यमा मौनता साँधे । यसबारे कांग्रेसका अर्का नेता भण्डारीले प्रतिक्रिया दिएनन ।