८ माघ, काठमाडौं । टर्कीको एक स्की रिसोर्टमा आगलागी हुँदा ६६ जनाको मृत्यु भएको छ भने ५१ जना घाइते भएका छन् ।
टर्कीको बोलु राज्यमा रहेको १२ तले ग्रान्ड कार्टल होटलमा भएको आगलागीमा ६६ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।
आगलागी भएको बेला सो रिसोर्टमा २३४ जना रहेको रिपोर्टमा उल्लेख छ । बोलु राजधानी अंकाराबाट १७० किलोमिटर उत्तरपश्चिममा अवस्थित छ । टर्कीका स्थानीय मिडियामा झ्यालबाट हाम फालेर दुई जनाको मृत्यु भएको रिपोर्ट आएको छ ।
बोलुका गभर्नर अब्दुलअजीज अयदिनले प्रारम्भिक अनुसन्धानबाट चौथो तल्लाको भान्छाबाट आगो सुरु भएको र पछि माथिल्लो तलाहरूमा फैलिएको देखाएको बताएका छन् । बोलुको पहाडी क्षेत्रहरू स्कीइङका लागि लोकप्रिय छन् र यस मौसममा इस्तानबुल र राजधानी अंकाराबाट धेरै मानिसहरू भ्रमण गर्छन् ।
स्थानीय रिपोर्टका अनुसार तापक्रम अत्यन्तै कम भएकाले दमकललाई त्यहाँ पुग्न एक घण्टाभन्दा बढी समय लागेको बताइएको छ ।