|  

पूर्व राज्यमन्त्री रामजीप्रसाद शर्माको निधन

८ माघ, काठमाडौं । पूर्वराज्यमन्त्री तथा संविधान सभा सदस्य रामजीप्रसाद शर्माको निधन भएको छ ।

६८ वर्षको उमेरमा शर्माको भारतमा उपचारको क्रममा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उनका दाजु कृष्णराज शर्माका अनुसार मिर्गौलामा समस्या भएपछि पूर्वमन्त्री शर्मा उपचारका लागि भारत गएका थिए ।

शर्मा बागलुङका पुराना वामपन्थी नेताका रुपमा परिचित उनले लामो समय एमालेको राजनीति गरेका थिए ।

उनी संविधानसभामा बागलुङ क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट अर्थशास्त्रमा स्नातक गरेका थिए । शर्मा २०५६ को निर्वाचनमा पनि त्यही क्षेत्रबाट उम्मेदवार थिए । उनी एमाले केन्द्रीय सदस्य तथा धौलागिरी अञ्चल सह-इन्चार्जसमेत भएका थिए ।

उनले १० वर्षसम्म एमाले जिल्ला कमिटी पार्टी सचिवको जिम्मेवारी पूरा गरेका थिए। उनी २०४९ सालमा गाविस अध्यक्ष निर्वाचित भएका थिए।