९ माघ, काठमाडौं । गुल्मीमा गुडिरहेको बसबाट खसेर एक महिलाको मृत्यु भएको छ ।
मदन भण्डारी राजमार्गअन्तर्गतको तम्घास सिमलटारी सडकखण्डको धनार्जीमा बसबाट खसेर इस्मा गाउँपालिका-५ रातामाटाकी शान्ति कुमालको मृत्यु भएको हो । बुटवलदेखि अर्खावाङ्ग जाँदै गरेको लु१ख ५७३६ नम्बरको बसबाट खसेर घाइते भएकी ३९ वर्षीय कुमाललाई अस्पतालले मृत घोषणा गरेको हो।
मंगलबार दिउँसो २ बजे धुर्कोट गाउँपालिका–५ धनार्जी उक्त घटना भएको थियो । कुमाल बसबाट ओर्ली भाडाको विषयमा विवाद भएको थियो। महिला गुडिरहेको बसको ढोकामा झुण्डिन खोज्दा खसेर घाइते भएकी थिइन् ।
बसबाट खसेर घाइते भएकी कुमाललाई उपचारको लागि सदरमुकाम तम्घासस्थित गुल्मी अस्पतालमा ल्याएको थियो। अस्पातलले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अहिले बस र चालकलाई नियन्त्रणमा लिई घटनाबारे प्रहरीले थप अनुसन्धान अगाडी बढाएको छ।