|  

नेप्सेमा हरियाली, ९अर्ब २० करोडको कारोबार

९ माघ, काठमाडौं ।   आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक र कारोबार रकम वृद्धि भएको छ । आज नेप्से परिसूचक ५२ दशमलव २६ अङ्कले बढेर दुई हजार छ सय ६५ दशमलव ४५ को विन्दुमा कायम भएको हो ।

तीन सय २२ कम्पनीको एक करोड ७६ लाख ९२ हजार आठ सय १९ कित्ता शेयर ९० हजार छ सय ९६ पटक खरिदबिक्री हुँदा नौ अर्ब २० करोड ३० लाख ८८ हजार तीन सय ४९ को कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ ।

सबैभन्दा धेरै अन्य समूह चार दशमलव २४ र लगानी समूह तीन दशमलव ८२ प्रतिशतले बढेको छ । बैंकिङ एक दशमलव ३२, विकास बैंक दुई दशमलव ७४, वित्त शून्य दशमलव ८९, होटल तथा पर्यटन दुई दशमलव ७१ र जलविद्युत् समूह दुई दशमलव ७१ प्रतिशतले बढेको छ ।

त्यस्तै, जीवन बिमा समूह एक दशमलव ८९, उत्पादन तथा प्रशोधन शून्य दशमलव शून्य आठ, लघुवित्त एक दशमलव शून्य सात, म्युचुअल फण्ड शून्य दशमलव ४९, निर्जीवन बिमा एक र व्यापार समूह दुई दशमलव ४५ प्रतिशतले बढेको छ ।