०९ माघ, काठमाडौं । रुपन्देही जिल्ला अदालतका न्यायाधीश पल्हादकुमार योगीको इजलासमा जारी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको बयान सकिएको छ ।
बुटवलस्थित सुप्रिम सहकारी संस्थाको बचत रकम अपचलन मुद्दामा आज बयान सकिएको अदालतका सूचना अधिकारी अनन्तराज मरासिनीले जानकारी दिए । आज बयान मात्र सकिएकाले थुनछेक बहस आज नहुने उनले बताए ।
लामिछानेसहित ४२ जनाविरुद्ध रुपन्देही जिल्ला अदालतमा गत आइतबार मुद्दा दर्ता भएको थियो । लामिछानेसँग ४ करोड रुपैयाँभन्दा बढी बिगो माग गरिएको छ । लामिछाने आज कार्यालय खुलेलगत्तै अदालतमा हाजिर भएका थिए ।