|  

भक्तपुरमा कार र मोटरसाइकल ठोक्किंदा आमाको मृ#त्यु, ३ वर्षीया छोरी घाइते

१० माघ, काठमाडौं । भक्तपुरमा कार र मोटरसाइकल ठोक्किंदा घाइते भएकी एक महिलाको मृत्यु भएको छ ।

मोटरसाइकल चालक भोजपुर घर भइ काठमाडौं पेप्सीकोला बस्ने राजु राईकी श्रीमती सपना राईको मृत्यु भएको प्रहरीले जनाएको छ । गत सोमबार मध्यपुरथिमि नगरपालिका–२ दिव्यश्वरीस्थित सडकमा पेप्सीकोलाबाट मगर गाउँतर्फ जाँदै गरेको बा.प्र.०१–०२७च.९२७ नम्बरको कार र सोही दिशातर्फ जाँदै गरेको बा.५० प.७४१ नम्बरको मोटरसाइकल ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी सपनालाई उपचारका लागि मदरल्याण्ड अस्पताल लिइएको थियो । त्यहाँबाट थप उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल लिइएकोमा उपचारका क्रममा बुधबार मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएकी उनकी तीन वर्षीया छोरी ईश्वरीको सोही अस्पतालमा उपचारपछि डिस्चार्ज गरिएको छ ।

कार चालक रामेछाप सुनापाती गाउँपालिका–१ घर भइ बूढानीलकण्ठ–४ बस्ने ३४ वर्षीय कृष्णप्रसाद गौतमलाई प्रहरी वृत्त ठिमिले नियन्त्रणमा लिएको छ ।