|  

अझै नियन्त्रणमा आएन काभ्रेको महाभारत जंगलमा लागेको आगो

१० माघ, काठमाडौं । काभ्रेपलाञ्चोकको दक्षिणी क्षेत्रस्थित महाभारत सामुदायिक वनमा लागेको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।

खानीखोला गाउँपालिका-१ थामलेख डाँडास्थित सो सामुदायिक वनमा मंगलबार दिउँसोदेखि आगलागी भएको बताइएको छ । बुधबार साँझ त्यसतर्फ पठाइएको नेपाली सेना तथा प्रहरीका टोलीले स्थानीयसँग समन्वय गरी नियन्त्रणको पहल गरिरहेका छन् ।

सुरक्षाकर्मीले आगलागीको क्षेत्र तथा मानवबस्तीको अनुगमन गरी मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल गर्न र क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न भनिएको छ । डिभिजन वन कार्यालय धुलिखेलका अनुसार मंगलबार दिउसो २ बजेबाट वनको भिर क्षेत्रबाट आगलागी सुरु भएको हो ।

हाल आगलागी नियन्त्रणको अवस्था नरहेको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ । आगलागी नियन्त्रणका लागि अवस्था अनुगमन गर्न एक टोली त्यसतर्फ पठाइएको छ ।