|  

शिक्षकहरूलाई आन्दोलनमा नभइ कक्षाकोठामा जान शिक्षामन्त्री भट्टराईको आग्रह

१० माघ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षकहरूलाई आन्दोलनमा भन्दा कक्षाकोठामा जान आग्रह गरेकी छन् ।

शिक्षाका लागि राष्ट्रिय अभियान (एनसीई) नेपालले आयोजना गरेको विद्यालय शिक्षाको पाठ्यक्रम परिमार्जन र गुणस्तरमा प्रभाव विषयक छलफल कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले अहिले आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउँदै कक्षा कोठामा गएर पढाइमा ध्यान दिन आग्रह गरेकी हुन् ।

नेपाल शिक्षक महासङ्घले माघ १६ र १७ गतेको तेस्रो पूर्ण राष्ट्रिय समितिको बैठकपछि काठमाडौँ केन्द्रित आन्दोलनको तयारी गरेको छ । उक्त बैठकपछि विद्यालय शिक्षा ऐन चाँडो ल्याउनुपर्ने, शिक्षकका पेशागत मागहरू सम्बोधन गरिनुपर्ने जस्ता माग राखेर आन्दोलनको तयारी गरेका हुन् ।