|  

काभ्रेको थामलेख सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर

१० माघ, काठमाडौं । काभ्रेपलान्चोकको खानीखोला र बेथाचोक गाउँपालिकाको सिमाना थामलेखमा रहेको सामुदायिक वनमा लागेको आगो नियन्त्रण बाहिर पुगेको छ ।

नेपाली सेना र नेपाल प्रहरी पुगेपनि जंगलको भिर क्षेत्रमा आगो लागेकोले तत्काल निभाउन नसकिएको प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए । आगो मंगलबार दिउँसो २ बजेबाट लागेको थियो । सुरक्षाकर्मीलाई आगो नियन्त्रण गर्न समस्या भएपनि मानबस्तीतर्फ आगो आउन नदिनेगरी नियन्त्रणको पहल तथा क्षति हुने देखिए तत्काल स्थानान्तरण गर्न निर्देशन दिइएको छ । आगलागीबारे जिल्ला वन कार्यालयमा सुरक्षा प्रमुख लगायतको बैठक समेत बसिरहेको छ । बैठकले स्थलबाट निभाउन सम्भावना नभए हेलिकोप्टरमार्फत् भएपनि आगो निभाउनका लागि संघीय सरकारलाई अनुरोध गरिने जनाइएको छ ।