|  

रवि लामिछाने विरुद्धको मुद्दामा आजको बहस सकियो

१० माघ, काठमाडौं ।  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आजको बहस सकिएको छ।

बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछानेविरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो। आज सरकारी वकिलको बहस सकिए पनि लामिछानेका वकिलहरूको पालो आएन।

आज सरकारी वकिलहरू र जाहेरवालाका तर्फबाट दिनेश त्रिपाठीले बहस गरेका छन् । पीडित पक्षको दुई वकिलको बहस पनि बाँकी रहेको छ । रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोविन्द ज्ञवालीले सरकारी वकिलको बयान सकिएको जानकारी दिए।

रविलाई हिजो जस्तै आज पनि परिवारको जिम्मा लगाइएको छ। सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन्।

जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको बहसमा उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन्।