|  

एलन मस्कले टिकटक किन्न चाहे, म सघाउन तयार छुः डोनाल्ड ट्रम्प

११ माघ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्बपति एलन मस्कले टिकटक किन्न चाहेमा आफू त्यसलाई समर्थन गर्न तयार रहेको बताएका छन् ।

मंगलबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा ट्रम्पले पत्रकारहरूसँगको कुराकानीमा मस्कले टिकटक किन्न चाहेको खण्डमा समर्थन गर्ने प्रतिक्रिया दिएका हुन् ।

ट्रम्पले पत्रकारहरूसँग भनेका छन्, ‘यदि उनले (मस्कले) टिकटक किन्ने चाहना राख्छन् भने म तयार छु । मैले टिकटकका ठुला मालिकहरूसँग भेटेको छु । कसैले टिकटक किनोस् र यसको आधा स्वामित्व संयुक्त राज्य अमेरिकालाई देओस् भन्ने मेरो सोचाइ छ ।’

राष्ट्रिय सुरक्षा चिन्ताको कारण टिकटकलाई चिनियाँ स्वामित्वबाट बिक्री गर्नुपर्ने कानुन अमेरिकामा आइतबारदेखि लागु भएको थियो । यो कानुन लागु हुनु अघि केही समयका लागि टिकटकका १७ करोड बढी अमेरिकी प्रयोगकर्ताले एपमा पहुँच पाउन सकेका थिएनन् । २० जनवरीमा नव निर्वाचित राष्ट्रपति ट्रम्प औपचारिक रूपमा सरकारमा आए लगत्तै एप खुलेको छ ।

ब्लुमबर्गका अनुसार चिनियाँ अधिकारीहरूले टिकटकको अमेरिकी सञ्चालन मस्कलाई बिक्री गर्ने विषयमा छलफल गरेका थिए । यद्यपि कम्पनीले यस प्रकारको योजनालाई अस्वीकार गरेको छ । ट्रम्पले सोमबार एक कार्यकारी आदेशमा हस्ताक्षर गर्दै कानुनको कार्यान्वयनलाई ७५ दिनसम्म पछाडि सारिदिएका छन् ।