|  

अमेरिकामा ५३८ जना अवैध आप्रवासी पक्राउ, सयाैँलाई सैनिक विमानमार्फत देश निकाला

११ माघ, काठमाडौं । अमेरिकामा रहेका सयौँ आप्रवासी पक्राउ परेका छन् । जसमध्ये केहिलाई सैनिक विमानमार्फत देश बाहिर लगिएको ह्वाइट हाउसले जनाएको छ ।

राष्ट्रपति ट्रम्पले आज क्यालिफोर्निया र नर्थ क्यारोलिनाको आफ्नो पहिलो भ्रमण गर्ने तयारी गरिरहेका बेला आप्रवासीहरूलाई पक्राउ गरिएको खबर सार्वजनिक भएको हो । ह्वाइट हाउसकी प्रेस सचिव कारोलिन लेभिटले ट्रम्प प्रशासनले बिहीबार ५३८ जना अवैध आप्रवासी अपराधीलाई पक्राउ गरेको र सयौंलाई सैनिक विमानमार्फत देश निकाला गरिएको बताएकी छन ।

ट्रम्पले चुनावी अभियानका क्रममा अवैध आप्रवासनविरुद्ध कडा कदम चाल्ने वाचा गरेका थिए र यसै साता आफ्नो दोस्रो कार्यकालको सुरुवात संयुक्त राज्य अमेरिकामा प्रवेशमा सुधार गर्ने उद्देश्यले कार्यकारी निर्णयमा यसलाई समावेश गरेका थिए ।