|  

खुम्बुमा हेलिप्याडमा भएको अवरोध हटाउने सहमति

११ माघ, काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा लामो समयदेखि  हेलिप्याडहरुमा भएको अवरोध तत्काल हटाइने सहमति भएको छ ।

आज प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा गाउँपालिका, राष्ट्रिय निकुन्ज र हेलिकप्टर कम्पनीका संचालकहरुको समन्वय बैठकमा हेलिकप्टर उडान पुनः गराउनका लागि हेलिप्याडमा भएको अवरोध हटाउन गाउँपालिकाले तत्काल पहल थाल्ने सहमति भएको हो । निकुन्ज क्षेत्रमा हेलिकप्टर उडानमा प्रतिबन्ध फुकाउन सगरमाथा राष्ट्रिय निकुन्ज तयार भए पनि खुम्बुपासाङल्हमु गाउँपालिकाले निकुन्जको निर्णयमा फरक मत राख्दै उडान भर्न नदिने अडान राखेको थियो ।

आजको समन्वय बैठकपछि खुम्बु क्षेत्रका सबै हेलिप्याडमा भएको अवरोध हटाउन गाउँपालिकाले पहल गर्ने निर्णय भएको प्रजिअ अनोजकुमार घिमिरेले बताए । गाउँपालिका अध्यक्ष मिङ्माछिरि शेर्पा, राष्ट्रिय निकुन्जका संरक्षण अधिकृत सुष्मा राना, जिल्लाका सबै सुरक्षा निकायका प्रमुख र एक दर्जन वायु सेवा कम्पनीका संचालकहरु सम्मिलित बैठकमा हेलिप्याडमा रहेको अवरोध हट्नेबित्तिकै हेलिकम्पनीहरुले रेस्क्यु फ्लाईट संचालन गर्ने निर्णय भएको छ ।

त्यस्तै समन्वय बैठकमा गाउँपालिकाले १५ दिनभित्र स्थानीयहरुसँग छलफल गरी अन्य उडान संचालनको निर्णयमा पुग्ने सहमति भएको छ ।