१२ माघ, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस, एमालेलाई फेरि विश्वास गर्न नसकिने अवस्थामा आफू पुगेको संकेत गरेका छन्।
दाङको राप्ती गाउँपालिकामा राप्ती आधारभूत अस्पताल उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै उनले पछिल्लो पटक आफूले नराम्रोसँग धोका खाएको र धोकेबाजलाई विश्वास गर्न नसकिने अवस्थामा पुगेको बताए।
सरकारमा जान हतारो नभएको भन्दै आफु जनताको विचमै रमाईरहेको पनि दावी गरे। ‘पछिल्लो चोटी नराम्रो धोका खाए मैले। र धोकेबाजलाई विश्वास गर्न मन पनि छैन’उनले भने,‘सरकारमा जान हतारो छैन। जागरण अभियानलाई उचाईमा पुर्याउने संकल्प लिएको छु।’
माओवादीका जनप्रतिनिधिले जितेका स्थानीय तह उत्कृष्ठ बन्न सफल भएको बताउदै काम गर्ने माओवादीनै हुने पुष्टी गरेको जिकिर गरे। उनले आफु सरकारमा हुदा र सरबारबाट बाहिरिदा पनि निरन्तर जनताको पक्षमा जडिरहेको दावी गरे।
‘सरकारमा हुदा र सरकारबाट बाहिर हुदा पनि निरन्तर लडिराख्ने प्रतिबद्धता व्यक्त गर्दछु’उनले भने,‘सरकार होइन, म जनता संग रमाईराखेको छु।’ प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मंसिर १५ गते देशभर ३९६ आधारभुत अस्पतालको शिलान्यास गरेका थिए। उतिबेला शिलान्यास भएको अस्पताल मध्य राप्ती गाउँपालिकामा १५ वेडको अस्पताल बनेको हो।