१३ माघ, काठमाडौं । ताप्लेजुङको पाथिभरा मन्दिर क्षेत्रमा निर्माण हुने केबलकारको विषयमा झडप हुँदा घाइते भएका तीन जनालाई काठमाडौं ल्याइने भएको छ ।
विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा उपचारत ३ जनालाई काठमाडौं ल्याइने तयारी गरिएको हो । शनिबार प्रहरीसंग भएको झडपमा घाइते भएका २६ जनामध्ये ३ जनाको विराटनगरमा उपचार भइरहेको थियो । हाल केवलकार निर्माणमा असन्तुष्ट जनाउँदै आएका विभिन्न १२ वटा निकायका पक्षधर र प्रहरीबीच शनिबार बेलुका झडप हुदाँ ५ जना असन्तुष्ट पक्षधरका र २१ जना प्रहरी घाइते भएका छन् ।
हाल विराटनगरमा गोली लागेर घाइते भएका याम लिम्बु, सगुन लावती र कुम भाचिएको अवस्थामा रहेका धर्मान पालुङ्वा रहेका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको र उनीहरुलाई थप उपचारका लागि काठमाडौं लैजाने तयारी छ । लिम्बूको तिघ्रामा र लावतीको छातीमा चोट लागेर फोक्सोमा रगत जमेको बताइएको छ ।
शनिबार पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा करिब १ किलोमिटरमाथि असन्तुष्ट रहँदै आएका पहिचानवादी समर्थकको नो केबलकार समूह र प्रहरीबीच दिउँसो र साँझ दुईपटक झडप भएको थियो ।दिउँसोको झडपमा स्थिति नियन्त्रणमा लिन प्रहरीले आश्रुग्यास प्रहार गरे पनि साँझ स्थिति थप विग्रँदै गएपछि गोली चलाउनु परेको प्रहरीले जनाएको छ ।