|  

परराष्ट्रमन्त्रीको स्वकीय सचिव हुँ अमेरिका पठाउँछौँ भन्दै ठगी, एक दम्पती पक्राउ

१४ माघ, काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँने भन्दै ठगेको आरोपमा एक दम्पती पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा उदयपुर घर भएका ३८ वर्षीय हेमराज शिवाकोटी र ३३ वर्षीया मुना सिलवाल छन् । हेमराज शिवाकोटीले आफूलाई ‘परराष्ट्रमन्त्रीको स्वकीय सचिव हुँ’ भन्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भनेर ठगेको प्रहरीकोनिष्कर्ष छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान पुरा गरेर उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको छ ।

पीडित कमानसिंह राईसँग दम्पतीले १५ लाख ७६ हजार रकम लिएर सम्पर्क विहीन भएका थिए । २०७९ वैशाखमै रकम लिए पनि पूर्व गृहमन्त्री बालकृष्ण खाँण जोडिएको शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेपछि आरोपीहरूले ‘अहिले शरणार्थी प्रकरण चर्किएको छ चुपचाप बस्नुस्’ भनेर रकम पचाउन खोजेको पीडितले बताएका छन् ।