१५ माघ, काठमाडौं । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) संरक्षण अन्तरदलीय सङ्घर्ष समितिले आन्दोलन घोषणा गरेको छ । समितिले एक विज्ञप्ति जारी गर्दै माघ १२ गते सशस्त्र प्रहरीले निहत्था जनतामाथि बरबर दमन गरेको भन्दै त्यसको विरोधमा आन्दोलनको घोषणा गरेको हो ।
विज्ञप्तिमा २०८१ माघ १३ गतेका लागि शान्तिपूर्ण जनप्रदर्शनको तयारी गरिरहेका बेला माघ १२ गते बेलुकी फुङलिङ नपा ११ स्थित बलुडाँडामा सशस्त्र प्रहरीले निहत्था जनतामाथि दमनचत्र चलाएको आरोप लगाइएको छ । विज्ञप्तिमा भनिएको छ, ‘धार्मिक स्थललाई युद्ध मैदानमा परिणत गरी ताप्लेजुङलाई अशान्त बनाइएको छ । दलाल माफियाद्वारा पालित पोषित नस्लवादी राज्यको यो क्रूर दमन चक्रको मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समिति घोर आपत्ति, निन्दा र भर्त्सना गर्दछ ।’
सो समितिले ५ बुँदे आन्दोलनका कार्यक्रम समेत घोषणा गरेको छ । जसमा २०८१ माघ १५ गतेदेखि अनिश्चितकालीन मेची राजमार्ग, तमोर करिडोर, तेह्रथुमबाट ताप्लेजुङ छिर्ने नाकाहरू र ताप्लेजुङभित्र यातायात बन्द गरिने, पाथीभरा क्षेत्र विकास समिति खारेज गरिनुपर्ने लगायतका माग राखिएका छन् ।
ताप्लेजुङको फुङ्लिङ–११ पाथीभरा क्षेत्रमा केबलकार बनाउने विषयलाई लिएर यही माघ १२ गते भएको विवादका क्रममा सुरक्षाकर्मी र स्थानीय प्रदर्शनकारीबीच झडप हुँदा प्रदर्शनकारी र सुरक्षाकर्मी दुवैतर्फ घाइते भएका थिए ।