|  

फिल्म ‘एक्टर: टेक वान’ को रिलिज रोक्न अदालतको आदेश

१५ माघ, काठमाडौं ।  अदालतले रिलिजको तयारीमा रहेको फिल्म ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न आदेश दिएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश ढाकाराम पौडेलको इजलासले माघ २२ गतेसम्म रिलिज रोक्न अल्पकालीन आदेश दिएको हो ।

फिल्म ‘एक्टर’का निर्माण कम्पनी नेपाल डायस्पोरा इन्टरटेनमेन्ट प्रालिले नाम चोरी गरेर मौलिकजस्तो देखिने गरी फिल्म बनाएको भन्दै ‘एक्टरः टेक वन’को प्रदर्शन रोक्न गत शुक्रबार अदालतमा रिट दायर गरेका थिए ।

सोही मुद्दामा अदालतले यस्तो आदेश दिएको हो । अदालतले दुवै पक्षलाई माघ २२ गते छलफलका लागि अदालतले बोलाएको छ ।

राजन भुसालद्वारा निर्देशित यस चलचित्रमा प्रदिप खड्का, आना शर्मा, दिव्या रायमाझी, राजबल्लभ कोइराला, दिव्य देव, सृजना अधिकारी, उषा रजक, सुशील सिटौलालगायतका कलाकारहरूको अभिनय छ ।

यस अधृत फिल्म्स् र अ मोती फिल्मको संयुक्त प्रस्तुति रहेको चलचित्रमा निर्माता थमन कुमार भण्डारी, क्रियटिभ प्रोड्युसर मोती कार्की र सह–निर्माता अनीश भुसाल रहेका छन् ।