|  

अमेरिका छोड्नुपर्ने नेपालीको संख्या १,३६५

१७ माघ, काठमाडौं । अमेरिकामा ट्रम्प प्रशासनले कागजपत्रविहीन आप्रवासीलाई पक्राउ गर्ने अभियान तीव्र  पारेको छ  ।

 जसअनुसार अहिले दैनिक १ हजार ५ सयसम्म पक्राउ पर्ने गरेका छन् । अमेरिकाको अदालतबाट देश निकालाको आदेश पाएका १४ लाख ४५ हजार ५ सय ४९ जनालाई इमिग्रेसन एन्ड कष्टुम इन्फोर्समेन्ट (आइस)ले पक्राउ अभियान सुरु गरेको हो। जसअनुसार न्युयोर्क, टेक्सस लगायतका राज्यबाट दैनिक ठूलो संख्यामा आप्रवासी पक्राउ परिरहेका छन्।

पक्राउ पर्नेहरू अमेरिकाको अदालतबाट डिपोर्टेसन अर्थात् देश निकालाको आदेश पाएकाहरू तथा आपराधिक क्रियाकलापमा दोषी ठहरिएकाहरू हुन्।  हाल अमेरिकामा अदालतबाट देश निकालाको आदेश पाएका नेपालीहरूको संख्या निकै न्यून रहेको तथ्यांकले देखाउँछ । तथ्यांकअनुसार १ हजार ३ सय ६५ जना नेपालीहरूले अदालतबाट देश छोड्नुपर्ने आदेश पाएका छन्।

स्रोतका अनुसार तीमध्ये केहीले अदालतको आदेशपछि ग्रिन कार्डका लागि अन्य प्रयासहरूसमेत गरेको हुन सक्ने बताइन्छ। अमेरिकामा ग्रिन कार्डको प्रक्रिया थालनी गरेका आप्रवासीहरूको हकमा धरपकड भने हुँदैन। उनीहरू आतिनुपर्ने र डराउनुपर्ने छैन । आइसले धरपकडका क्रममा सोधपुछ भने गर्न सक्दछ।